काठमाडौं- युवा तीव्र गतिका बलर प्रतिश जिसीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा बागमती प्रदेश प्रधानमन्त्री कप टी२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ।
समूह ‘बी’ मा रहेको बागमतीले शनिबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको हो। १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनायो।
गण्डकीका विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेल गरी ५ ब्याटरले समान १० रन बनाएका थिए। ओपनर अर्जुन कुमाल ९ र अर्जुन गुरुङ ८ रनमा आउट भएका थिए।
बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले २–२ विकेट लिए। बायाँ हाते तीव्र गतिका बलर प्रतिश, रामनरेश गिरी र रिजन ढकालले १–१ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो।
बागमतीका विपिन आचार्यले १९ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनाए। यता, प्रतिशले २७ रन जोडे। उनले८ बलमा ३ छक्का र २ चौका प्रहार गरे।
ओपनर सुवास खकुरेल २७ रन जोडे। लक्की कठायतले १७, नन्दन यादवले १४, ईशान पान्डे ९ र ज्ञानेन्द्र मल्लले ४ रन बनाए। गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले २–२ विकेट लिए। अशोक श्रेष्ठ, सुवास भण्डारी र कमल परियारले १–१ विकेट लिए।
समूह ‘बी’ बाट ६ अंकका साथ शीर्ष दुईमा रहँदै बागमतीले सेमिफाइनलमा स्थान पक्का गरेको छ।
यता, एपीएफ ४ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगिसकेको छ। अब एपीएफले समूह ‘ए’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ। समूह ‘ए’ को उपविजेतामा त्रिभुवन आर्मी क्लब र प्रदेश १ दौडमा छन्। बागमतीले समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
पुलिसले आज प्रदेश १ सँग अन्तिम खेल खेल्ने तय थियो। तर, प्रदेश १ का खेलाडीमा कोरोना संक्रमण भएको आशंकापछि खेल स्थगित भएको थियो। यदी उक्त खेल रद्ध भएमा प्रदेश एक स्वतस् प्रतियोगिताबाट बाहिरिने छ।
त्रिभुवन आर्मी क्लब ४ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ। प्रदेश १ ले बाँकी दुई खेलमा विशाल जित हात पारेको खण्डमा आर्मीसँग समान ५–५ अंक हुनेछ।
यो अवस्थामा नेटरनरेटमा माथि हुने टोली सेमिफाइनलमा समूह ए को उपविजेताको रुपमा पुग्नेछ। तर, प्रदेश १ ले बाँकी दुई मध्य एक खेलमा हारेमा वा अंक बाँडेको खण्डमा आर्मी सोझै ५ अंकका साथ सेमिफाइनलमा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।