काठमाडौं- ललितपुरको खुमालटास्थित प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कूलले ललितपुर महानगरपालिकाका आधारभूत विद्यालयहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। स्कूलले विद्यालय साझेदारी शीर्षकअन्तर्गत बुधबार ती सामग्री हस्तान्तरण गरेको हो।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त थापाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा आधारभूत विद्यालयहरु चोईना विना गुरुगणेश लोहाचोक, बाखेल कुमारी फर्सीडोल, ललितकल्याण केन्द्र भोलढोका, चुनिदेवी शिक्षा मन्दिर चुनिखेल, मिननाथ आदर्श शिक्षा सदन टंगाल, बालकुमारी सैंबु, सचेतना धोविघाट र मोतिविनायक ढोलाहिटीलाई एक-एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यालय साझेदारी शीर्षकअन्तर्गत विद्यालयले गर्ने आगामी कार्यक्रमहरुको बारेमा प्रकाश पार्दै विद्यालयकी निर्देशिका पवित्र लिम्बूले स्वागत मन्तव्य राखेकी थिइन्।
नगरप्रमुख महर्जनले शैक्षिक राजधानीका रुपमा स्थापित रहेको ललितपुर महानगरपालिकाभित्रका विद्यालयले सञ्चालन गर्ने यस्ता गतिविधिले महानगरपालिकाको शीर उच्च बनाएको बताए। आगामी दिनमा अरु स्कूलका लागि पनि यो कार्य प्रेरणादायी हुने विश्वास लिएको उनले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले यो कार्यक्रम सुरुआत मात्र भएको र आगामी दिनमा अझ थप कार्यक्रमहरु विद्यालयले ल्याउने प्रतिबद्धता जनाए।
कार्यक्रममा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले प्रदान गरिएका शैक्षिक सामग्रीहरुले आधारभूत विद्यालयलाई प्रविधिमैत्री बनाउन सुरुआत गर्ने र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई सुधार गर्दै बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि हुने अपेक्षा महानगरपालिकाले राखेको बताए।
शिक्षा महाशाखाकै अधिकृत नवराज रिजालले विशिष्ट श्रेणी कायम गरिएका विद्यालयद्धारा सामुदायिक विद्यालयसँग सहकार्य गरी बालकेन्द्रित अभ्याससम्बन्धी क्षमता विकास गर्नका लागि आवश्यक शिक्षक तालिम, शैक्षिक सामग्री तथा अन्य शैक्षिक क्रियाकलापले शैक्षिक गुणस्तर वृद्धि गर्नमा महत्त्वपूर्ण सहयोग पुर्याउने बताए।
ललितपुर प्याव्सनका अध्यक्ष निरोज महर्जनले निजीस्तर र सामुदायिकस्तरका विद्यालयबीचमा सहकार्य हुनुपर्ने बताए। यस्ता कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तर बढाउने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।