काठमाडौं- प्रधानमन्त्री कप टी२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्बल र प्रदेश १ बीचको खेल स्थगित भएको छ।
केही खेलाडीमा कोरोना संक्रमणको आशंकापछि शनिबार (आज) हुने तय भएको पहिलो खेल स्थगित गरिएको हो।
खेल शनिबार बिहान टियु मैदानमा बिहान ९ बजेदेखि हुने तय थियो। तर, प्रदेश १ का खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
‘प्रदेश १ का खेलाडीमा कोरोना संक्रमणको लक्षण देखिएको सूचना पाएपछि उनीहरुको आग्रहमै पीसीआर परीक्षण गर्न लागिएको हो। यसको नतिजा भोलि आउने छ’, क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले नेपाल लाइभसँग भने।
खेलमा अंक बाँड्ने वा पुन: खेलाउने भन्नेबारे पीसीआर परीक्षणको नतिजापछि मात्र थाहा हुने क्यानले जनाएको छ।
जारी प्रतियोगितामा पुलिस ३ खेलमा अपराजित रहँदै समूह ‘ए’को विजेता रुपमा सेमिफाइनलमा पुगिसकेको छ।
यता, प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ।
आजनै हुने बागमती र गण्डकीबीचको खेल भने टियुमा निर्धारित समयमै हुने क्यानले जनाएको छ। खेल दिउँसो १:१५ देखि सुरू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।