काठमाडौं- राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई कुनै प्रकारको दबाब नदिएको स्पष्ट पारेका छन्।
सहिद स्मारक ए डिभिजन लिग चलिरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३५ जना खेलाडीलाई मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएको थियो।
लिगमा सहभागी टोलीका केही प्रशिक्षकहरूले उक्त बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीहरूलाई अल्मुताइरीले दबाब दिएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूलाई अल्मुताइरीले अगाडि अर्को खेल हुँदा खुट्टा जोगाएर खेल्नुलगायतको निर्देशन दिइनुले क्लबको प्रदर्शनमा फरक पर्नुका साथै खेलाडीमाथि अनावश्यक दबाब सिर्जना गरेको क्लबका प्रशिक्षकहरूको दाबी छ।
तर, अल्मुताइरीले क्लबका प्रशिक्षकहरूको उक्त दाबीमाथि अनविज्ञता प्रकट गरेका छन्।
'कुनै पनि खेलाडीलाई नखेल भनेर मैले कहिल्यै भनिनँ र लिगका खेलहरूमा १०० प्रतिशत नदिनु पनि भनेको छैन,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मलाई थाहा छ क्लबमा १०० प्रतिशत दिने खेलाडीले राष्ट्रिय टोलीमा उत्तिकै योगदान दिन सक्दैनन्।'
उनले क्लब र लिग प्रतियोगिता फुटबल विकासको मुख्य कारक भएको स्मरण गराउँदै खेलाडीले अनआवश्यक दबाब महसुस गरेको भए जारी लिगको खेलहरूमा सहभागी नहुने बताएका छन्।
'यदि लिगका खेलहरूमा मेरो उपस्थितिले खेलाडी वा क्लबहरूले दबाब महसुस गरेका छन् भने म सहभागी हुँदिन। खेलहरू टिभीमा हेर्छु,' उनले लेखेका छन्, 'लिगका सबै क्लब र खेलाडीहरूलाई शुभकामना।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।