फाइल तस्बिर
काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नवौं चरणको खेल आज (शुक्रबार)देखि दशरथ रंगशालामा सुरु हुँदैछ। कोरोना भाइरसको बढ्दो संक्रमणसँगै लिगमा उपस्थित दर्शकलाई पनि स्वास्थ्य सावधानीका लागि बलियो मापदण्ड तय गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
लिग हेर्न रंगशालामा उपस्थित दर्शकलाई अब अनिवार्य कोरोना भाइरसविरुद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने प्रावधान राखिएको लिगका निर्देशक सन्जीव मिश्रले बताए। दर्शकले अब टिकट लिँदा नै अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्ने उनको भनाइ छ।
‘प्यारापिटमा पनिदर्शकलाई एक सिट खाली राखेर अर्को सिटमा बस्ने व्यवस्था मिलाइनेछ,’ मिश्रले भने, ‘खेलाडी र अफिसियललाई पनि मास्क, स्यानिटाइजरलगायत सम्पूर्ण जोखिम न्यूनीकरणका मापदण्ड पूरा गरेर सहभागि गराइनेछ।’
मिश्रका अनुसार लिगमा सहभागी टोलीका खेलाडीलाई कोरोना संक्रमण भएमा क्लबसँगको समन्वयमा खेलाडीको उपचार लगायत सबै व्यवस्था एन्फाले गर्नेछ। लिगमा अहिले औसत दुई हजारदेखि १० हजारसम्म दर्शक आइरहेका छन्।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को मंगलबार बसेको बैठकले रंगशाला प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ। लिगमा आठौँ चरण सकिँदा साविक विजेता मच्छिन्द्र २० अंक सहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको मनाङको १९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।