काठमाडौं– भारतीय नागरिक मुख्तार मियाँको हत्या आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
भारत बिहार जिल्ला वैशाली ग्रामपञ्चायत महुवा घर भई वीरगञ्ज महानगरपालिका–३ छप्कैया बसेर इ–रिक्सा चलाउँदै आएका ४५ वर्षीय मियाँको हत्या आरोपमा ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा पर्सा छप्कैया बस्ने भारत बिहार पूर्वी चम्पारण मोतीहारी घर भएका ३० वर्षीय सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने २२ वर्षीय निकेश पटेल, पर्सा छप्कैया बस्ने भारत बिहार मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर घर भएका ५५ वर्षीय सपन मण्डल छन्।
यस्तै, छप्कैया बस्ने भारत बिहार घर भएका बक्सर भन्ने ३५ वर्षीय नाजिर हुसैन र छप्कैया बस्ने ५० वर्षीय बाबर हुसैन रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उनीहरूकै आ–आफ्नो घर ठेगानाबाट पक्राउ गरेको हो।
प्रदेश–२–०३–००१ ह ६६९ नम्बरको इ–रिक्सा चालक मुख्तार यही पुस २१ गते साँझ आफ्नो रिक्सासहित हराएका थिए। प्रहरीले वीरगञ्ज महानगरपालिका–२३ इटियाहीस्थित नारायणी बयोधा अस्पतालको पछाडिपट्टि नहरमा पुस २२ गते मुख्तारको शव फेला पारेको थियो।
अनुसन्धानको क्रममा मृतकको रिक्सा, अभियुक्त सुनीलको १ थान अटो, घटनामा प्रयोग भएको १ थान फलामको रेन्च, आरोपितहरूको २ थान मास्क, रगत लागेको २ थान सर्ट, रगत लागेको १ थान ज्याकेट, रगत लागेको १ जोर जुत्ता र सिसीटिभी फुटेजहरू लगायत प्रहरीले बरामद गरेको छ।
एउटै घरमा बस्दै आएका आरोपी सपन मण्डल र मुख्तारबीच झगडा भएको तथा उक्त झगडाको रिसइवी र आर्थिक प्रलोभनका कारण उनीहरू ५ जना र हाल फरार १ जना भारतीय नागरिक समेत मिलेर मुख्तारको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।