काठमाडौं– विभागीय त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ लगातार जित निकाल्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सम्पन्न खेलमा दुवै टोलीले समान ३-१ जित निकालेको हो।
पहिलो खेलमा त्रिभुवन आर्मीले साविक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकालेको थियो।
पहिलो सेटमा २५–१५ ले विजयी भएको आर्मीले दोस्रो सेट २०–२५ ले गुमाएको थियो। तर, तेस्रो सेट २५–१५ ले नै आफ्नो पक्षमा पार्दै आर्मी खेलमा फर्किएको थियो।
प्रतिस्पर्धात्मक बनेको चौंथो सेटमा आर्मी २६–२४ को जित निकाल्न सफल भएको हो।
यस्तै, दोस्रो खेलमा हेल्प नेपालले नेपाल एपीएफ क्लबलाई ३-१ ले पराजित गरेको छ।
पहिलो सेट २३–२५ ले गुमाएको हेल्प नेपालले त्यसपछिको तीनै सेट २५–२०, २५–१५ र २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो।
जितसँगै आर्मीको ३ खेलबाट ६ अंक पुगेको छ। आर्मीसँगको हारसँगै साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। एक खेल बाँकी रहेको गण्डकीको ३ खेलबाट ३ अंक नै छ।
यता, हेल्प नेपालको ३ खेलबाट ७ अंक छ। लगातार चौंथो हार बेहोरेको एपीएफले प्रतियोगितामा अंकविहीन छ।
अब शुक्रबार हुने खेलबाट फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ। शुक्रबार गण्डकी र हेल्प नेपाल तथा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।