काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले सुनचाँदी रत्न तथा आभूषणको जर्तीसम्बन्धी कार्यविधि परिमार्जन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।
सुनचाँदी रत्न तथा आभूषण महासंघ र यससँग सम्बन्धित सरकारी निकायका उच्च पदस्थ अधिकारीहरूसँगको छलफलमा व्यवसायीहरूले कार्यविधिका कारण काम गर्न अप्ठ्यारो भएको बताएपछि गृहमन्त्री खाणले परिमार्जन गर्न निर्देशन दिएका हुन्।
गृहमन्त्री खाणले मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौलालाई कार्यविधि परिमार्जनमा समन्वयकारी भूमिका निभाउन निर्देशन दिए। गृह मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री खाणले भने, ‘कार्यविधिसँग सरोकार हुने अर्थ, उद्योग र वाणिज्य मन्त्रालयसँग समन्वय गरेर कार्यविधि परिमार्जन गर्ने समन्वयकारी भूमिका मन्त्रालयका सहसचिव मुकुन्द निरौलाले गर्नुहुन्छ। मैले यही कार्यक्रममा उहाँलाई निर्देशन दिन्छु।’
मन्त्री खाणले समय र परिस्थितिअनुसार विभिन्न समयमा बनेका कानुन परिमार्जन गर्दै समयसापेक्ष बनाउनुपर्ने बताए। उनले सरकारको पहिलो दायित्व विधिअनुसार चल्नु भएको बताउँदै सुनचाँदी रत्न तथा आभूषण व्यवसायीले उठाएका माग सम्बोधन गर्न आफूले सहजीकरण गर्नेसमेत बताए।
उनले सुनका गहना किन्नुलाई अनुत्पादक क्षेत्रमा लगानी लगाउनेका रुपमा लिने कि सम्पत्तिको जगेर्ना गरेको रुपमा लिने भन्नेमा प्रश्न उब्जिने बताए। ‘जुन बेलामा किनेर राखे पनि सुनको मूल्य विपत्तिमासमेत घट्दैन। असहजता भएको बेलामा पनि काम लाग्छ। सुन धितो राखेर अप्ठ्यारो परेको बेलामा काम गर्न सकिन्छ,’ गृहमन्त्री खाणले भने।
सुनचाँदी व्यवसायीले उठाएका विषय कानुनअनुरुप समाधानका लागि पहल गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।