काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपाल बंगलादेश बैंकको सेयर खरिद-बिक्री प्रक्रिया तत्कालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ।
मोतीलाल दुगडको निवेदनमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो।
उच्च अदालत पाटनमा पनि यससम्बन्धी मुद्दा पेसीमा रहेको थियो। तर, उक्त मुद्दा स्थगित भएको थियो।
जिल्ला अदालतले 'नेपाल बंगलादेश बैंक लिमिटेडको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर प्रतिकित्ता १५७ रुपैयाँका दरमा खरिद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार गरी कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेस गरेको पत्रबाट देखिँदा सो बमोजिमको सेयर विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नू नगराउनू' भनी आदेश जारी गरेको हो।
निवेदनबमोजिम आदेश जारी हुनु नपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेशमा भनिएको छ। नबिल बैंकसँग मर्जरको प्रक्रियामा रहेको समयमा उक्त विवाद जिल्ला अदालतमा पुगेपछि अन्तरिम आदेश जारी भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।