काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत साउथह्याम्टनले सानदार जित हात पारेको छ। मंगलबार राति घरेलु मैदानमा सम्पन्न खेलमा साउथह्याम्टनले ब्रेन्टफर्डलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो।
सेन्ट मेरिजमा भएको खेलमा साउथह्याम्टनको जितमा जान वेडनारेक, अर्मान्डो ब्रोजा र चे एडाम्सले एक गोल गर्दा एक गोल उपहार पाएको थियो। ब्रेन्टफर्डका भिटाली जानेल्टले एक गोल फर्काएका थिए।
खेलको पाँचौ मिनेटमा जान वेडनारेकको गोलबाट साउथह्याम्टनले सुरुवाती अग्रता लिएको थियो। २३औं मिनेटमा भिटाली जानेल्टले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ३७औं मिनेटमा अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरेपछि साउथह्याम्टनले पहिलो हाफमा २–१ को अग्रता बनायो। खेलको ४९औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै खेललाई ३–१ को आरामदायी स्थितिमा ल्याउँदै टोलीलाई सहज जिततर्फ अघि बढाए। खेलको ७०औं मिनेटमा चे एडाम्सले गोल गर्दै टोलीको जित पक्का गरे।
जितसँगै २० खेलबाट २४ अंक जोडेको साउथह्याम्टन तालिकाको ११औं स्थानमा उक्लेको छ। पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १३औं स्थानमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।