काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न आग्रह गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए।
अर्थमन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइरहेको बताउँदै अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अर्बौं डलर लगानी आवश्यक पर्ने र त्यसका लागि लगानीकर्तालाई सेवा सुविधा दिनुपर्ने अवश्यकता रहेको उल्लेख गरे।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनआरएनको सहजताका लागि छोटो समयमै यो नियम ल्याइएको बताउए। यसअघि रहेको १० हजार डलरलाई घटाएर पाँच हजार डलर पु¥याएको, दुई वर्षलाई घटाएर एक वर्ष गरेको, केही बैंकहरूले विदेशी मुद्रामा खाता खोल्न सुरु गरिसकेको बताए। यो प्रावधान विदेशमा हुर्किरहेकाले दोस्रो पुस्तलाई नेपालसँग जोड्ने माध्यम बन्ने आशा पनि उनले व्यक्त गरे।
यसभन्दा पहिला पनि डलरमा खाता खोल्न पाइने बताउँदै अर्थसचिव मधु मरासिनीले यसपटक सरकारले त्यसलाई सहजीकरण गरेको जानकारी दिए।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले ल्याएको नयाँ सुविधाका लागि सरकारलाई धन्यवाद दिँदै यसले संसारभरका नेपालीलाई नेपालमा खाता खोलेर आफूसँग रहेको बचत नेपाल भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे। संघले स्थापनाकालदेखि नै नेपालको समृद्धि र विकासका लागि साझेदारको रूपमा काम गर्दै आएको उनले बताए। एनआरएनए युके आयोजक रहेको उक्त कार्यक्रममा एनआरएनए एनसिसी अमेरिका, अष्ट्रिया, अष्ट्रेलिया, कतार, क्यानडा, स्पेन, दक्षिण अफ्रिका र दक्षिण कोरिया सहआयोजक थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।