काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारमा भएको अनियमिततामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा भएको अनियमितताबारे छानबिन गरेर आएको प्रतिवेदनका आधारमा कारबाही गर्ने बताएका हुन्।
उनले नारायणहिटी दरबार संग्रहालय अन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्तिको संरक्षण र निगरानी गर्न नसक्नु दुःखद् भएको बताए। मन्त्री आलेले बतास समूहले आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिइ र मन्त्रालय एवं विकास समितिको पूर्वस्वीकृति बिना नै १४ रोपनी जग्गामा नयाँ संरचना निर्माण गरेको पाइएको पनि बताए।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेकोमा धन्यवाद दिएको र राम्रो काम गर्नका लागि आफूलाई कसैले रोक्न नसक्ने जिकिर गरे।
मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषभित्र रेष्टुरेण्ट सञ्चालन गरिरहेको विषयमा पनि अबको सात दिनभित्र प्रतिवेदन आउने र त्यसअनुसार नै कारबाही प्रक्रिया अघि बढाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।