काठमाडौं– नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ। साथै बोर्डले योबीचमा आफूले गरेका कामबारे जानकारी दिँदै नयाँ परिस्थतिमा कसरी जाने भन्नेबारे निजीक्षेत्रसँग सुझाव लिएको छ।
कार्यक्रममा निजीक्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनु पर्ने सुझाव दिएका छन्। कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय सरकारसँग आग्रहसमेत गरेका छन्।
निजीक्षेत्रले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने, तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलाउनुपर्ने बताएका छन्। कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनबीच पनि बोर्डले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिएका छन्। उनले फेरि कोभिडको नयाँ संक्रमण बढिरहेको सन्दर्भमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताए।
सो अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताएका छन्। पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिएका छन्।
यसैगरी एक्सपिडिसन अपरेटर एसाेसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनु पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।