काठमाडौं- त्रिभुवन आर्मी क्लबका मिडफिल्डर जगजित श्रेष्ठ र च्यासल युथ क्लबका आशिष राई राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा समेटिएका छन्।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आइतबार घोषणा गरेको ३५ सदस्सीय टोलीमा जगजित र आशिषलाई पनि बोलाइएको हो। जगजित सन् २०१३ पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्।
यता, आर्मीकै सन्तोष तामाङ भने बाहिरिएका छन्। चोटको कारण उनी टिमबाट बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई डाकिएको छ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ। मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुने एन्फाले जनाएको छ।
नेपालले पछिल्लो पटक सेप्टेम्बरमा साफ च्याम्पियनसिपको तयारीस्वरुप भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालले पहिलो खेल बराबरी र दोस्रो खेलमा हार व्यहोरेको थियो।
टिममा परेका खेलाडीहरु :
विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बु, सत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुष घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, कृतिसरन्त छुन्जु, मनिष डाँगी, नविन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यू ठकुरी, सुशिल राई, तेज तामाङ, जगजित श्रेष्ठ, आशिष राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।