काठमाडौं- थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सपन्न खेलमा थ्रीस्टारले हिमालयन शेर्पामाथि २–० को जित निकालेको हो। थ्रीस्टारको जितमा अन्सुमाना क्रोमाहले एक गोल गर्दा एक गोल उपहार पाएको थियो।
२९औं मिनेटमा हेमन्त थापा मगरको कर्नरमा राफायल रिमगागोको हेडरलाई गोलरक्षक दीप कार्कीले दोस्रो प्रयासमा टप कर्नरबाट नियन्त्रणमा लिए।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मुताम्वा पिस्टोनको पासमा पूर्णबहादुर गुरुङको डिबक्सभित्रको प्रहार पहिलो बारबाट बाहिरिदा शेर्पा अग्रता लिनबाट चुक्यो।
५६औं मिनेटमा आत्मघाती गोलबाट थ्री स्टारले १–० को अग्रता दिलाए। निशान खड्काको पासलाई नियन्त्रणमा लिएर दुई डिफेन्डरलाई बिट गर्दै अन्सुमाना क्रोमाहको वान टच पासलाई ऋतिककुमार खड्काको टच शेर्पाका डिफेन्डर अमृत श्रेष्ठको खुट्टामा लाग्दै गोलमा परिणत भयो।
त्यसपछि खेलको इन्जुरी समयको छैटौं मिनेटमा अन्सुमानाले गोल गर्दै थ्रीस्टारलाई २-० को जित दिलाए। लाकेन लिम्बुको पासमा अन्सुमानाले अफसाइड बिट ट्याप गर्दै वान भर्सेस वानको अवस्थामा गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका थिए।
जारी लिगमा थ्री स्टारको यो तेस्रो जित हो। यसअघि थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० तथा जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको थियो।
थ्रीस्टारसँगको हारसँगै शेर्पाको तीन खेल सम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
जितसँगै थ्रीस्टार ८ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। पराजित शेर्पा ११ अंक जोडेर छैटौं स्थानमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।