काठमाडौं– साविकको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको कर्जा प्रवाहमा अनियमितता भएको प्रकरणमा तत्कालीन सञ्चालक मधुरलाल सिन्या धरौटीमा रिहा भएका छन्।
नागरिक लगानी कोषको समेत लगानी रहेको फाइनान्सको कर्जा प्रवाहमा अनियमितता गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आइतबार विशेषले आठ थान मुद्दामा सुनुवाइ गर्दै प्रतिमुद्दा २५ हजारका दरले सिन्यासँग दुई लाख रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले मागेको धरौटी बुझाएर उनी रिहा भएका हुन्।
अख्तियारले नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा गाभिएको उक्त बैंकका तत्कालीन ७ जना व्यक्तिविरुद्ध गत वर्षको फागुन २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले लगानी कोषको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका नवौं तहका तत्कालीन कर्मचारी छविरमण अधिकारी समेत तत्कालीन सञ्चालक बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यविरूद्ध मुद्दा दायर गरेको थियो।
दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डसमेत नअपनाई अनियमित तवरले कर्जा प्रवाह गरेको, आफ्नो ओहदाको कर्तव्य पालना नगरी सार्वजनिक संस्थाको सम्पत्तिमाथि बदनियत तथा लापरवाही गरी हिनामिना गरेको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ।
फरक–फरक ऋणीलाई ऋण दिँदा अनियमिता भएको भन्दै अख्तियारले ११ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। सञ्चालकमध्ये बसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोज कुमार भेटवाल, ऋणी भैरव प्रसाद भेटवाल र रविन लामासमेतलाई नियन्त्रणमा लिई अदालतमा मुद्दासँगै बुझाएको थियो।
११ वटा मुद्दामा अख्तियारले ४० करोड ३३ लाख ८८ हजार ९ सय २९ रूपैयाँ बिगो दाबी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।