काठमाडौं– ललितपुरको खोकना क्षेत्रको १० हजार रोपनी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन ३०० वर्ष पुरानो राजकुलोको नयाँ प्रविधिको प्रयोगबाट मुहान निर्माण थालिएको छ। ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा मुहान निर्माण सुरु गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आइतबार ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरिन्।
ललितपुरको उत्तर–पश्चिममा अवस्थित खोकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्ष अघिदेखि सञ्चालनमा आएको स्थानीयको भनाइ छ। सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकोमा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर सञ्चालन गरिँदै आएको छ। स्थानीय कृषकको मागअनुसार चालु आर्थिक वर्षमा सिँचाइ मन्त्रालयले मुहान संरक्षणका लागि १ करोड ३२ लाख र नहर निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरेको थियो।
कुलोको मुहान शिलान्यासका अवसरमा मन्त्री भुसालले ऊर्वरा भूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्नेभन्दा पनि कृषि उत्पादन गरी त्यहीँबाट आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरिन्। सामूहिक खेती गरेर उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, 'हामी सबै मिलेर सामूहिक खेती गरौँ, म पनि खेतीमा सामेल भएर काम गर्न चाहन्छु।'
तेलका लागि प्रसिद्ध खोकना सांस्कृतिक एवं कृषिका दृष्टिकोणले एतिहासिक रहेको उल्लेख गर्दै मन्त्री भुसालले शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन दिइन्। 'उपभोक्ताले कामको निरन्तर नियमन गरेर कुलोबाट जतिसक्दो धेरै फाइदा लिनेगरी निर्माण गर्नुपर्छ, त्यसका आवश्यक प्रवन्ध म गर्नेछु, स्थानीयस्तरमा तपाइँहरू सक्रिया हुनुहोस्,' भुसालले भनिन्।
कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले एतिहासिक खोकना राजकुलोको संरक्षण र सम्बर्द्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले भने, 'राज्यले उपलब्ध गराएको सहयोगको अधिकतम फाइदा लिएर उत्पादकत्व वृद्धि गर्नुहोला।'
सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले एतिहासिक कुलो स्तरोन्नतीबाट खोकनाबासीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै विनियोजित बजेटलाई सही तवरले सदुपयोग हुने विश्वास व्यक्त गरे। कार्यक्रममा ललितपुर महानगर वडा नम्बर २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले खोकनावासीका खेत सिञ्चित गर्नका लागि राजकुलो महत्वपूर्ण भएको र कुलो स्तरोन्नतीका लागि विनियोजित बजेट सही सदुपयोग गरेर सिँचाइ प्रणालीमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा खेतीयोग्य जमीन खण्डीकरण हुन नदिनेतर्फ आफूले ध्यान दिने बताए।
राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैसीपाटी र खोकनाका करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ। यस प्रणालीबाट करिब २ हजार घरधुरी एवम् ७ हजार जनङ्ख्या लाभान्वित हुने नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।