काठमाडौं– ला लिगाअन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ। १० खेलाडीमा समेटिएको बार्सिलोना घरेलु टोली ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो।
ग्रानडामा शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाका लागि लुक डि जोङले गोल गर्दा घरेलु टोलीका एन्टोनियो पोर्टासले बराबरी गोल फर्काएका थिए। दुवै गोल दोस्रो हाफमा भएको थियो।
खेलमा बल पोसेसन राख्दै घरेलु टोलीलाई दवाव बढाएपनि बार्सिलोनाले खेल जित्न भने सकेन। खेलको ५७औं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए। उनले डिफेन्डर ड्यानी आल्भेसको पासमा गोल गरेका थिए।
खेलको ७९औं मिनेटमा पाब्लो गाभिरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना समस्यामा परेको थियो। बार्सिलोना १० खेलाडीमा समेटिएको १० मिनेटपछि एन्टोनियो पोर्टासले गोल गर्दै खेल बराबरीमा ल्याए।
बराबरीसँगै बार्सिलोना २० खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ भने ग्रानडा २४ अंकसहित १२औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।