काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी र मछिन्द्र फुटबल क्लबले जित निकालेका छन्। शनिबार मनाङले घरेलु मैदान पोखरा रंगशालामा च्यासल युथ क्लबलाई ५-० गोल अन्तरले हराएको हो।
मनाङलाई जित दिलाउन आफिज ओलावालेले ह्याट्रिक गोल गरे। यस्तै, एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक/एक गोल गरे।
एकपक्षीय जित निकाल्ने क्रममा मनाङले पहिलो हाफमै दुई गोल गरेको थियो।
खेलको तेस्रो मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। च्यासलको कमजोर डिफेन्सको फाइदा उठाउँदै उनले गोल गरे।
खेलको ४३औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २ गोल गरेको मनाङले दोस्रो हाफमा थप ३ गोल गर्यो। आक्रमक बनेको मनाङका सामू च्यासलका डिफेन्स निकै व्यस्त बनेपनि उनीहरूको प्रयास भने सफल हुन सकेन। फलतः ८ मिनेटमै च्यासले थप ३ गोल खान पुगेको थियो।
८६औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए। खेलको इन्जुरी समयको तेस्रो मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ४-० को सहज जिततर्फ अगाडि बढाए।
त्यसको एक मिनेटपछि नै ओलावालेले ह्याट्रिक पूरा गर्दा मनाङ ५-० ले विजयी भयो। जारी लिगमा यो दोस्रो ह्याट्रिक हो। यसअघि सातदोबाटो युथ क्लबका अजयी मार्टिन्सले विभागीय टोली एपीएफ फुटबल क्लबविरुद्ध ह्याट्रिक गरेका थिए। नेपाली खेलाडीले भने जारी लिगमा ह्याट्रिक गोल गर्न सकेका छैनन्
शीर्षस्थानमा रहेको मछिन्द्रलाई एक गोल उपहार
यता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आत्मघाती गोल मद्दतमा शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ ।
मछिन्द्रले फ्रेन्ड्समाथि १–० को जित निकाल्दै लिगमा अपराजित यात्रा जारी राखेको हो। खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई दबाबमा राखेपनि गोलको लागि संघर्ष गर्नुपर्दा दोस्रो हाफमा भएको आत्मघाती गोलले स्पष्ट ३ अंक हात पार्यो।
६७औं मिनेटमा आत्मघाती गोलबाट मछिन्द्रले खेलमा १–० को अग्रता लिएको थियो। कप्तान सुजल श्रेष्ठको क्रसलाई आकाश राईले हेड गर्दा रोनेल एन्थोनी पउलले हेडमार्फत् गोलरक्षक राहुल रामचन्द्र यादवलाई दिएको पासले जाली चुम्न पुगेको थियो।
८ खेलमा मनाङले ६ जित, १ बराबर र १ हारका साथ १९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। शीर्षस्थानको मछिन्द्रको २० अंक छ। पाँचौं हार बेहोरेको पुछारबाट दोस्रो स्थानमा रहेको च्यासलको ५ अंक छ ।
यता, फ्रेन्ड्सको रेलिगेसनको दवाव बढेको छ। फ्रेन्ड्स ८ खेलबाट ३ अंक जोडेर पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।