काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो इंग्लिस प्रिमियर लिगमा फर्किएका छन्। शुक्रबार उनी इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्ध भएका हुन्।
भिल्लाका अनुसार शुक्रबार क्लब र कौटिन्होबीच सहमति भएको छ। सहमतिअनुसार उनले यस सिजनको अन्त्यसम्म खेल्नेछन्।
'बार्सिलोना र एस्टन भिल्ला कौटिन्होको विषयमा सहमत छन्। सहमतिमा खरिदको विकल्पसमेत रहेको छ,' भिल्लाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कौटिन्होले यसअघि पाँच वर्ष लिभरपुलबाट खेलेका थिए। सन् २०१८ मा बार्सिलोना भित्रिनुअघि कौटिन्होले लिभरपुलबाट दुई सय एक खेलमा ५४ गोल गरेका थिए।
तर, बार्सिलोनाdf भित्रिएयता कौटिन्होले प्रभावकारी छाप छाड्न सकेनन्। कौटिन्होले बार्सिलोनामा एक सिजन ५२ लिग खेल खेल्दै १३ गोल गर्न सफल भएका थिए।
सुरूको सिजनमा उत्कृष्ट खेल प्रदर्शन गरे पनि खेल्ने स्थान र शैली नमिल्दा खराब लयबाट गुज्रिएका कौटिन्हो यसअघि सन् २०१९/२० को सिजन लोनमा जर्मन क्लब वायर्न म्युनिखबाट खेलेका थिए।
एक सिजन वायर्ननमा बिताएका कौटिन्होले वायर्नका लागि बुन्डेसा लिग, च्याम्पियन्स लिग र जर्मन कप जितेका थिए। कौटिन्होले बुन्डेसा लिगमा २३ खेल खेल्दै ८ गोल गरेका थिए। यस्तै च्याम्पियन्स लिगमा ३ गोल गरेका थिए।
वायर्नबाट फर्किएपछि उनले बार्सिलोनामा अधिकांश समय बेञ्चमा समय बिताए। बितेका दुई सिजनका १३ खेलमा मात्रै मौका पाएका कौटिन्हो पर्याप्त समय फुटबल खेल्नका लागि क्लब छाड्ने मनस्थितिमा थिए। यता, आर्थिक भार थोग्न नसकेको बार्सिलोना उनलाई दिने तलबबाट नयाँ खेलाडी भित्र्याउने योजनामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।