काठमाडौं- सन् २०१८ लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोना भित्रिएका मिडफिल्डर फिलिप कौटिन्होले प्रभावकारी छाप छाड्न सकेका छैनन्। लिभरपुलमा हुँदा राम्रो खेल प्रदर्शन गरेर चर्चाको शिखरमा पुगेका उनलाई ब्राजिलियन स्टार नेयमारले बार्सिलोना पुर्याएका थिए।
कौटिन्होले बार्सिलोनामा एक सिजन ५२ लिग खेल खेल्दै १३ गोल गर्न सफल भएका थिए।
सुरूको सिजनमा उत्कृष्ट खेल प्रदर्शन गरे पनि खेल्ने स्थान र शैली नमिल्दा खराब लयबाट गुज्रिएका कौटिन्हो यसअघि सन् २०१९/२० को सिजन लोनमा जर्मन क्लब वायर्न म्युनिखबाट खेलेका थिए।
एक सिजन वायर्ननमा बिताएका कौटिन्होले वायर्नका लागि बुन्डेसा लिग, च्याम्पियन्स लिग र जर्मन कप जितेका थिए। कौटिन्होले बुन्डेसा लिगमा २३ खेल खेल्दै ८ गोल गरेका थिए। यस्तै च्याम्पियन्स लिगमा ३ गोल गरेका थिए।
वायर्नबाट फर्किएपछि उनले बार्सिलोनामा अधिकांश समय बेञ्चमा समय बिताए। बितेका दुई सिजनका १३ खेलमा मात्रै मौका पाएका कौटिन्हो पर्याप्त समय फुटबल खेल्नका लागि क्लब छाड्ने मनस्थितिमा थिए। यता, आर्थिक भार थोग्न नसकेको बार्सिलोना उनलाई दिने तलबबाट नयाँ खेलाडी भित्र्याउने योजनामा छ।
अहिले उनै कौटिन्हो इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्ला भित्रिने भएका छन्।
चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोले शुक्रबार कौटिन्हो एस्टन भिल्ला भित्रिने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्। उनका अनुसार आजै यसको औपचारिक घोषणा हुने छ।
‘फिलिप कौटिन्हो लोनमा बार्सिलोनाबाट एस्टन भिल्ला भित्रिने सम्पूर्ण तयारी पूरा भएको छ’, उनले भनेका छन्, ‘आजको सोझो संवादपछि दुबैपक्षबीच सम्झौता हुनेछ। लोन सिजनको अन्त्यसम्म हुनेछ। भिल्लाले आज आधिकारीक जानकारी सार्वजनिक गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।