काठमाडौं– सरकारले उखुको मूल्य तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ मूल्य निर्धारण गरेको हो। यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपैयाँसमेत जोडिएको कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिए।
यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ हो। यो मूल्यमा उखुको न्यूनतम लागत ३८२ रुपैयाँ, ढुवानी खर्च ६२ रुपैयाँ तथा मुनाफा ७६ रुपैयाँ हिसाब गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान तथा चिनी उद्योगीसँग छलफल गरेर मूल्य निर्धारण गरेको हो।
सरकारले गत वर्ष मङ्सिर २८ गते उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४४ रुपियाँ ३३ पैसा निर्धारण गरेको थियो।
नेपालका करिब १८ वटा जिल्लामा उखु खेती हुन्छ । त्यसमध्ये सबैभन्दा बढी सर्लाही जिल्लामा हुने गरेको कृषि मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।