काठमाडौं- नेपाल तामाङ घेदुङ प्रवास समिति कतारले ब्लड क्यान्सरबाट पीडित रविन तामाङको उपचारका लागि आर्थिक सहयोग गरेको छ। घेदुङले कतारस्थित विभिन्न व्यक्तिहरुबाट संकलन गरेर पठाएको ६५ हजार ८६२ रुपैयाँ बुधबार हस्तान्तरण गरिएको हो।
घेदुङ कतारका विशेष सल्लाहकार तारा थिङ तामाङसहितको टोलीले भक्तपुरस्थित पीडित तामाङको निवासमा पुगेर उनको परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको थियो। सहयोग हस्तन्तरण गर्न पुगेको टोलीमा नेपाल तामाङ घेदुङका विपद् व्यवस्थापन प्रमुख रामकृष्ण ब्लोन, तामाङ घेदुङ ललितपुर महानगर समितिका अध्यक्ष कपिल लामा, सदस्य यानम लामा, कतार घेदुङका प्रतिनिधि देवेन्द्र लामा, तामाङ पत्रकार संघका निवर्तमान अध्यक्ष विष्णु तामाङ लगायत सहभागी थिए।
तेमाल गाउँपालिका-९ का स्थायीबासी तामाङ भक्तपुरमा बस्दै आएका छन्। बुबा प्रेम तामाङ दोङका अनुसार २१ वर्षीय रविनलाई ११ महिनाअघि ब्लड क्यान्सर पुष्टि भएको थियो। सुरुमा चाबहिलस्थित हेल्पिङ ह्याण्ड हस्पिटलमा उनको उपचार गरिएको थियो। त्यसपछि सिभिल अस्पतालमा सारिएको थियो। अहिले पाटन अस्पतालमा उनको उपचार भइरहेको छ। तर, चिकित्सकले यहाँ उपचार नहुने भन्दै थप उपचारका लागि भारतमा लैजान रेफर गरेपछि आफूहरु समस्यामा परेको उनले बताए।
'अहिलेसम्म ८-१० लाख रुपैयाँ खर्च भइसक्यो। भारतमा लैजाँदा १०-१५ लाखभन्दा बढी खर्च हुन्छ भनेको छ। कहाँबाट जुटाउनु?,' उनले भने। थांका लेख्ने पेसामा संलग्न उनी पछिल्लो समय काम गर्नसमेत नपाउँदा थप समस्यामा परेको बताउँछन्।
यसैबीच 'रविन तामाङ बचाऊ अभियान' मार्फत् सहयोग जुट्न थालेको तामाङले बताए। यसबाट केही राहत महसुस भएको भन्दै उनले सहयोगीहरुलाई धन्यवाद दिए।
प्लस-टूसम्मको पढाइ सकाएका रविनले ब्लड क्यान्सरका कारण थला परेपछि पढाइलाई अगाडि बढाउन नसकेको बताउँछन्। उनलाई भारत लगेर उपचार गर्न आफ्नै दाइले 'बोन म्यारो' दिने तयारी गरेका छन्। तर, परीक्षणको रिपोर्ट आइसकेको छैन। 'दाइको बोन म्यारो म्याच भए धेरै सजिलो हुने थियो, मिलेन भने अर्को समस्या थपिन्छ,' रविनका बुबा प्रेमले भने।
तामाङ घेदुङ कतारका विशेष सल्लाहकार थिङले बिरामी रविनलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कतारबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।