काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकी पत्नी रेजी राणा क्षेत्रीका नाममा अवैध स्रोतबाट आर्जन गरिएको १ अर्ब रुपैयाँ बढीको सम्पत्ति रहेको दाबीसहित सम्पती शुद्वीकरण अनुसन्धान विभागमा पूरक उजुरी दर्ता भएको छ।
सामाजिक अभियन्ता डा गोविन्द केसीले सम्पत्ति शुद्धीकरण विभागमा पूरक निवेदन दिँदै सम्पत्तिको विवरण पनि उल्लेख गरेका छन्।
बृहत् नागरिक आन्दोलनका तर्फबाट डा केसीले गत पुस ११ गते विभागमा प्रधानन्यायाधीश जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा स्रोत नखुलेको सम्पत्ति रहेको दाबी गर्दै उजुरी दिएका थिए। उक्त उजुरीमा विभागले अनुसन्धान अधिकारी तोकेर अनुसन्धान थालेको दाबी गरिएको छ।
छानबिन सुरु भएपछि विभागलाई अनुसन्धान गर्न सहज होस् भनेर पूरक उजुरी दिइएको हो।
डा केसीको पूरक निवेदनमा प्रधानन्यायाधीश राणाकी पत्नी रेजीका नाममा २०६५ असोज ४ मा काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराहीमा ३ कित्ता जग्गा खरिद गरेको भेटिएको उल्लेख छ। कित्ता नम्बर ३४२, ४७१ र ४८४ का ती जग्गा अवैध स्रोतको आम्दानीबाट खरिद गरेको दाबी उजुरीमा गरिएको छ।
विभागले मंगलबार दर्ता गरेको पूरक निवेदनमा २०६५ मंसिर ४ मा काठमाडौं महानगरपालिका–३० स्थित ठमेलमा पनि १०९, ११० र १११ कित्ता नम्बरका जग्गा खरिद गरेको भेटिएको दाबी छ। यी तीन कित्ताको क्षेत्रफल २० आना छ।
त्यस्तैगरी गत वर्ष असार १७ मा काठमाडौं महानगरपालिका–५ स्थित भाटभटेनीमा कित्ता नम्बर ७ को एक रोपनी ८ आना जग्गा खरिद गरेको डा केसीले निवेदनमा उल्लेख गरेका छन्। राणाका नाममा भएका जग्गा र तिनलाई खरिद गर्ने पैसाको स्रोत छानबिन गर्न, तत्काल जग्गा रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न र अवैध सम्पत्ति जफत गरी हदैसम्म सजाय गर्न निवेदनमा माग गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।