काठमाडौं– राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले माओवादी केन्द्रका नेता बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो।
गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गरेका थिए। सोही समितिको सिफारीसको आधारमा मन्त्रीपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो।
राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालकालागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरीएको हो। उपाध्यक्ष पदमा नियुक्तीकालागि १२ जनाले आवेदन दिनुभएको थियो। जसमध्येबाट बस्नेत उपाध्यक्षमा नियुक्त भएका हुन्।
उपाध्यक्षमा नियुक्त बस्नेत नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।