काठमाडौं- भारतले कश्मीरमा मानवताविरुद्धको अपराध गरिरहेको भन्दै कारबाही गर्न पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र संघसँग आग्रह गरेका छन्।
बुधबार ट्वीट गर्दै खानले कश्मीरको मुद्दामा कारबाही गर्न अपिल गरेका हुन्। उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी संयुक्त राष्ट्र संघले कश्मीरमा भारतको युद्ध अपराध र मानवताविरुद्धको अपराधमा कारबाही गर्नुपर्छ। कश्मीरी जनताले भारतीय कब्जा र दमन र विरोधलाई अस्वीकार गरेका छन्। पाकिस्तान कश्मीरीहरूको संघर्षप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ।’
उनले कश्मीरमा संयुक्त राष्ट्रको निगरानीमा जनमत संग्रहको लागि सुरक्षा परिषद्को प्रतिबद्धता पूरा हुन नसकेको समेत दाबी गरेका छन्।
अर्को ट्वीटमा उनले भने,‘कश्मीरमा संयुक्त राष्ट्रको निगरानीमा जनमत संग्रहको लागि सुरक्षा परिषद्को प्रतिबद्धता पूरा हुन सकेको छैन र हिन्दुत्ववादी नरेन्द्र मोदी सरकारले अन्तर्राष्ट्रिय मानवीय कानुन र चौथो जेनेभा महासन्धिको उल्लंघन गरिरहेका छन्। भारत कश्मीरको जनसांख्यिकी परिवर्तन गर्न युद्ध अपराध गर्दैछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।