काठमाडौं- साताको पहिलो कारोबार दिनबाटै उच्च अंकले उकालो लागेको सेयर बजारमा आज 'ब्रेक' लागेको छ। चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
बुधबार पुँजी बजार मापन गर्ने परिसूचक (नेप्से) ३०.७५ अंकले घटेर २६४९.२० विन्दुमा ओर्लिएको हो। आइतबार, सोमबार र मंगलबार यस्तो परिसूचक क्रमशः ६०.४१, ३०.०३ र ६०.०१ अंकले बढेको थियो।
आज समग्रमा नेप्से १.१५ प्रतिशतले घटेको छ। यसैगरी आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.६८ अंकले घटेर ४९७.०३ विन्दुमा कायम भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कारोबार रकममा भने झिनो सुधार आएको छ। आज कूल चार अर्ब ६२ करोड १५ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २३६ वटा कम्पनीका ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ५८ हजार ५७२ पटक किनबेच भएका छन्।
आज खरिद-बिक्री रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। यसैगरी, दोस्रो स्थानमा अपी पावर र तेस्रोमा अपर तामाकोशी जलविद्युत् कम्पनी परेका छन्। आज सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ। यस कम्पनीको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यसैगरी सबैभन्दा धेरै गुमाउनेमा विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता परेका छन्। यस संस्थाका लगानीकर्ताले आज ४.५५ प्रतिशतका दरले आफ्नो सेयर मूल्य गुमाएको नेप्सेले जानकारी दिएको छ।
कारोबार भएकामध्ये १३४ कम्पनीको सेयर मूल्य घटेको छ। यसैगरी ५२ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।