फाइल तस्बिर
काठमाडौं– मंगलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण पुनः हिउँदे वर्षा हुने भएको छ। अघिल्लो साता पनि वर्षा र हिमपातले जनजीवन अस्तव्यस्त बनाएको थियो। बिहीबारदेखि करिब चार दिन मौसम खराब रहने मौसम विज्ञान विभागले जनाएको छ।
अब आउने मौसमी प्रणालीले शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने भएको विभागको भनाइ छ। बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। उनका अनुसार बिहीबारदेखि देशव्यापी रूपमा हिउँदे वर्षाको मौसमी प्रणाली फैलनेछ। सो क्रममा बिहीबार र शुक्रबार सुदूरपश्चिमदेखि पश्चिमको लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा मध्य नेपालको बागमती प्रदेशसम्म हिउँदे वर्षाको विशेष प्रभाव रहने उनको भनाइ छ।
प्रदेश १ र २ मा भने अन्य प्रदेशको तुलनामा हिउँदे वर्षाको प्रभाव कम पर्ने उनको भनाइ छ। ती भेगमा आंशिकदेखि सामान्य बदली र असर रहनेछ। वर्षा हुँदा तराई भेगमा शीतलहर र कुहिरोको असर भने कम हुनेछ।
यस पटक दोहोरिन थालेको हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात तथा दैनिक जनजीवनमा बढी असर पर्ने भएकाले सचेत रहन र गराउन सरोकारवाला निकायलाई अनुरोधसमेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।