काठमाडौं– बाँकेमा घरेलु हिंसाबाट मारिएकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै आन्दोलनरत पक्ष र सरकारबीच ४ बुँदे सहमति भएको छ। सरकारसँगको सहमतिपछि आन्दोलनरत पक्षले धर्ना कार्यक्रम स्थगित गरेको छ।
मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा सरकारसँग ४ बुँदे सहमति भएको अधिकारकर्मी रुबी खानले जानकारी दिइन्।
नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु (हत्या) घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अनुसन्धान गरिने लगायत सहमतिपछि धर्ना स्थगित गरिएको खानले जानकारी दिइन्।
निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यानसम्बन्धी जाहेरीमा औंल्याइएका विषयमा सीआईबीबाट अनुसन्धान गर्ने, जाहेरवाला र आन्दोलनरत व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने, घटनाका सम्बन्धमा भएको छानबिन प्रतिवेदनमा औंल्याइएका विषयहरु कार्यान्वयन गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने गृह मन्त्रालयका अधिकारीहरु सहमत भएका हुन्।
यस्तै, गृह मन्त्रालयका अधिकारीहरुको प्रतिवद्धतापछि धोबी र कुर्मीको न्यायका लागि भन्दै अनसनरत रुबी खानले मंगलबारदेखि नै अनसन तोड्ने र आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सहमति जनाएका छन्।
धोबी र कुर्मीको हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै खानसहितका अधिकारकर्मी, मृतकका आफन्त र स्थानीयले गत असोजदेखि नै विभिन्न आन्दोलन र धर्नाका कार्यक्रम गर्दै आएका थिए।
यसबीचमा घटनाको अनुसन्धानका लागि भन्दै छानबिन समिति समेत गठन भएको थियो। तर, समितिले बुझाएको प्रतिवेदन समेत कार्यान्वयन नगरिएपछि अधिकारकर्मीहरुले पुन: काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।