काठमाडौं- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले युवाहरु स्वरोजगार हुनुपर्नेमा जोड दिएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गहतराजले रोजगारीको मात्र उद्देश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताएका हुन्।
अरुको अधीनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुनु बढी लाभदायी हुने उनको भनाइ थियो। 'रोजगार होइन, स्वरोजगार हुने प्रयास गरौं,' राष्ट्रिय युवा परिषद् र आईडिया स्टुडियो नेपालको साझेदारीमा सञ्चालित 'युवा नवप्रवर्तन/इन्क्युवेसन नीति प्रयोगशालामा आधारित' पाँच दिने तालिमको समापन समारोहमा बोल्दै मन्त्री गहतराजले भने।
उनले देशभित्रै स्वरोजगार हुन सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
तालिममा सहभागी सातवटै प्रदेशका युवाहरुलाई सम्बोधन गर्दै उनले विदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने युवा पुस्ता स्वदेशमा श्रम गर्न भने लजाउने गरेको बताए। सरकारले सञ्चालन गरेको युवालक्षित कार्यक्रमको सदुपयोग गर्दै स्वदेशमै आत्मनिर्भर हुन मन्त्री गहतराजले युवाहरुलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।