काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। आइतबारबाट उच्च अंकले बढ्न थालेको सेयर बजार आज पनि त्यसले निरन्तरता भएको हो।
मंगलबार (आज) पुँजीबजार मापन गर्ने परिसूचक (नेप्से) ६०.०१ अंकले बढेर २६७९.९५ विन्दुमा उक्लिएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ३०.०३ अंकले बढेको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कूल चार अर्ब ३२ करोड दुई लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यो कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। सोमबार कूल चार अर्ब ५३ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
आज कूल २३४ वटा कम्पनीका ९१ लाख १० हजार ७५८ कित्ता सेयर ५५ हजार ३७८ पटक किनबेच भएका छन्। यसैगरी आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.२५ अंकले बढेर ५०३.७२ विन्दुमा उक्लिएको छ।
आज दुईवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेपछि सकारात्मक सर्किट लागेको छ। थप तीन वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएका थिए।
आज कारोबारमा आएको उत्पादनमूलक र अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहका सूचकमा वृद्धि भएको नेप्सेले जनाएको छ। यस दिन विकास बैंक, वाणिज्य बैंक, फाइनान्स लगायतका समूहमा सेयर मूल्यमा उच्च वृद्धि भएको छ।
आज १४ करोड ७७ लाख रुपैयाँसहित खरिद-बिक्री रकममा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र अपी पावर परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।