काठमाडौं– पछिल्लो एकसातामा वाणिज्य बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न थालेको छ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढेको छ। यसैगरी बैंकहरुको कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ।
संघको तथ्यांक अनुसार पुस १६ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ४२ खर्ब ४९ अर्ब पुगेको छ। बैंकहरुको निक्षेप संकलन पुस ९ गतेसम्म्मा ४२ खर्ब ३६ अर्ब थियो। गत साता बैंकहरुको स्वदेशी मुद्रा (लोकल करेन्सी) को निक्षेप २० अर्ब रुपैयाँले बढेको छ। तर, विदेशी मुद्रा (फरेन करेन्सी) को निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको संघको तथ्यांकले देखाएको छ।
यसैगरी, पुस १६ गतेसम्ममा बैंकहरुले ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमा ३९ खर्ब ७४ अर्ब स्वदेशी मुद्रामा कर्जा दिएका छन् भने १ खर्ब २५ अर्ब विदेशी मुद्रामा कर्जा दिएका छन्। बैंकर संघको तथ्यांक हेर्दा पछिल्लो केही समय यता बैंकहरुको कर्जा लगानी केही घटेको छ भने निक्षेप संकलन बढ्न थालेको छ।
यसकारण अहिले बैंकहरु निक्षेप संकलनमा आक्रामक भएको देखिन्छ। चालु आर्थिक वर्ष लागेसँगै बैंकहरुमा लगानीयोग्य रकम (तरलाता) को अभाव देखिन थालेको थियो। तरलता अभावको समस्या अझै पनि छ। यसलाई न्यूनीकरण गर्न सरकार तथा नेपाल राष्ट्र बैंक अग्रसर रुपमा लागिपरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।