काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १५ वटा फाइनान्स कम्पनीमध्ये हालसम्म १० वटाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन्। यो वर्ष अधिकांश कम्पनीको लाभांश दर गत वर्षको तुलनामा बढेको छ ।
लाभांश घोषणा गरेकामध्ये आइसीएफसी र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सलेगत वर्षको भन्दा कम लाभांश दिएका छन् भने अन्य कम्पनीको लाभांश दर बढेको छ।
अघिल्लो आवबाट सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गरेको आइसीएफसी फाइनान्सले यो वर्ष १४ प्रतिशतमात्र लाभांश घोषणा गरेको छ।
त्यसैगरी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले अघिल्लो वर्ष ११ दशमलव ४ प्रतिशत लाभांश वितरण गरेकोमा यो वर्ष १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
यो वर्ष हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये मञ्जुश्री फाइनान्सले सबैभन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
अघिल्लो आवको मुनाफाबाट कम्पनीले गत वर्ष १८ प्रतिशत बोनस सेयर र ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
त्यसैगरी सबैभन्दा कम प्रग्रेसिभ फाइनान्सले नगद र बोनस सेयर गरी ७.३६८ प्रतिशतमात्र लाभांश घोषणा गरेको छ।यो वर्ष रिलायन्स फाइनान्सले १५.७९ प्रतिशत बोनस दिँदा गुडविल फाइनान्सले १३ प्रतिशत लाभांश घोषणा गरेको छ।
गत आवको मुनाफाबाट सेन्ट्रल फाइनान्स र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सले समान ११ प्रतिशत बोनस घोषणा गर्दा मल्टीपर्पस फाइनान्सले १३.५२६ प्रतिशत बोनस दिँदै छ।
यो वर्ष पोखरा फाइनान्सले भने साढे आठ प्रतिशत बोनस घोषणा गरेको छ। लाभांश घोषणा गरेका १० कम्पनीमध्ये आइसीएफसी फाइनान्सले साधारण सभा सम्पन्न गरिसकेको छ भने बाँकी कम्पनीले साधारण सभाको मिति तय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।