काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण रहेको बताएका छन्। सोमबार भक्तपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उनले अहिलेको कठिन घडीमा व्यवसायी सबै एकजुट भएर यसको सामना गर्नुपर्ने उनले बताए।
भक्तपुर जिल्ला ऐतिहासिक र सांस्कृतिकरूपमा समृद्ध भएको औंल्याउँदै उनले भक्तपुरमा पर्यटन उद्योगको यथेष्ट सम्भावना रहे पनि विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारी र यसले पर्यटन उद्योगमा पारेको असरले व्यवसायी मारमा परेको बताए।
अध्यक्ष गोल्छाले कोरोना महामारीले साना तथा मझौला उद्योग व्यवसालाई समेत साह्रै कठिनाइको सामना गर्नुपरेको भन्दै बैंकिङ क्षेत्रमा देखापरिरहने तरलताको अभावले पनि उद्योग व्यवसायमा थप कठिनाइको सामना गर्नुपरेको बताए।
महासंघका एसोसियट्सतर्फका उपाध्यक्ष रामचन्द्र संघाईले कोभिडका कारण धराशायी बनेको पर्यटन उद्योगलाई पुनरुत्थान गर्न आवश्यक कदम चाल्नु जरुरी रहेको बताए।
त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले उद्योग वाणिज्य क्षेत्रको विकास तथा उत्थानमा अघि बढ्नका लागि महासंघसँग निरन्तर छलफल र सहकार्य गर्ने बताए। कोभिडको महामारीको चपेटामा परेको उद्योगधन्दालाई बैंकहरुको ब्याज आतंकले थप आक्रान्त बनाएको भन्दै उनले निजी क्षेत्रलाई विभाजित गरी कमजोर पार्ने कोसिस भइरहेका तर्फ ध्यान दिँदै त्यस्ता चुनौतीलाई पन्छाएर उद्योग वाणिज्य क्षेत्रको समस्या समाधानमा एकताबद्ध भई लाग्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।