काठमाडौं- सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको खुला प्रतियोगिताबाट प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदको पदपूर्तिको विज्ञापनसम्बन्धी आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन आदेश दिएको छ।
त्रिवि सेवा आयोगबाट २०७७ फागुन ९ मा खुला प्रतियोगिताबाट प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदको पदपूर्तिका लागि विज्ञापन प्रकाशित भएको थियो। उक्त विज्ञापनलाई २०७८ साउन १८ को सूचनाबाट २०७८ भदौ १५ गतेदेखि लिखित परीक्षा सञ्चालन गर्ने निर्णय आयोगले गरेको थियो। तर, आयोगको निर्णयबमोजिम विशेष कारणबस विज्ञापन अनुसारको प्रक्रिया स्थगित गरिएको थियो। सोही प्रक्रिया अगाडि बढाउन सर्वोच्चले आदेश दिएको हो।


सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाले सोमबार दिएको आदेशमा भनिएको छ, 'त्रिवि सेवा आयोगबाट मिति २०७७/११/९ मा खुला प्रतियोगिताबाट प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदको पदपूर्तिका लागि भएको विज्ञापनलाई मिति २०७८/०४/१८ को सूचनाबाट मिति २०७८/०५/१५ गते देखि सञ्चालन गरिने भनिएको लिखित परीक्षा आयोगको निर्णयबमोजिम विशेष कारणबस स्थगित गरिएको देखिन्छ। तत् पश्चात मिति २०७८/८/१४ को त्रिभुवन विश्वविध्यालय सभाको निर्णय नं.५ ले त्रिवि सेवामा संलग्न रहेका शिक्षक कर्मचारीहरुलाई सम्बोधन हुने गरी वि.वि. शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को नियम ६ को संशोधनमा अघि नै विज्ञापन भइसकेको खुला प्रतियोगितासम्बन्धी विज्ञापनलाई असर पर्ने कुनै व्यहोरा उल्लेख नभएको हुँदा विवि सेवा आयोगबाट मिति २०७७/११/०९ मा जारी सूचना बमोजिमको कारबाहीलाई लामो समयसम्म स्थगित नगरी सो विज्ञापनसम्बन्धी आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउनू।'


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।