फुङ्लिङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन्। हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिँदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन्।
अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए। चौँरी गोठ सार्ने क्रममा हिउँपहिरोले बगाएसँगै उनीहरू ओडारमा अल्झिएर बसेका थिए। उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन।
हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि विस्तारै बग्दै गएपछि आज दिउँसो उनीहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।
हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए। समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौँरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।