काठमाडौं- टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ।
चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बिएमकेलाई ९५-७४ ले पराजित गर्यो। टाइम्सको जितमा मनीष केसीले २६ अंक योगदान गरे।
दोस्रो क्वाटरमा १७-१९ को झीनो अन्तरले पछि परेको टाइम्स बाँकीमा भने अगाडि रह्यो। टाइम्सले पहिलोमा २६-१२, तेश्रोमा २७-२२ र चौथोमा २५-२१ को अग्रता लिएको थियो।
अर्को खेलमा विराज राणाको १८ अंक सहयोगमा गोड्सले स्कल क्यान्डीलाई ६५-५० ले हरायो। चौथो तथा अन्तिम क्वाटरमा गोड्सले जितको महत्वपूर्ण आधार खडा गर्यो। त्यसमा गोड्सले २५-९ को अग्रता बनाएको थियो। सुरुका तीन क्वाटरमा गोड्सले क्रमशः १२-१३, १२-२१ र १६-१५ को प्रदर्शन गर्यो। गोड्स र स्कलले समान २-२ खेल खेलेका छन्। दुवैले समान १-१ जित/हार आत्मासात् गरेका छन्।
अघिल्लो दिन आइतबार गोड्स रोयल बास्केबलसँग पराजित भएको थियो भने स्कलले क्याम्पियनलाई हराएको थियो। शिव सेना नेपाल, ललितपुरको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार ३ खेल हुने छ। बिएमके र कीर्तिपुर बास्केटबल, टाइम्स र गोल्डेनगेट तथा रोयल र क्याम्पियनबीच खेल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।