काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो। हिमालनय शेर्पालाई जित दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे।
उनले खेलको ४४औँ मिनेटमा पेनाल्टीमार्फत् गरेको एक गोल नै हिमालयन शेर्पाका लागि निर्णायक गोल सावित भयो। खेलको ४२औँ मिनेटमा सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेव गुरुङलाई फाउल गरेपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले हिमालन शेर्पालाई पेनाल्टीको अवसर दिएको थियो। जसमा विश्वासले गोल गरे।
यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोले पनि पेनाल्टीको अवसर पाएको थियो। तर सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा गोल गर्न सकेनन्।
यस जितसँगै हिमालयन शेर्पाले सात खेलमा ११ अंक जोडेको छ। हिमालनय शेर्पा अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। यसअघि हिमालयन शेर्पा नवौँ स्थानमा रहेको थियो। शेर्पाले सातौँ चरणको खेल सकिँदासम्म तीन जित, दुई बराबरी र दुई हारको नतिजा निकालेको छ।
समान सात खेल नै खेलेको सातदोबाटोको भने आठ अंक रहेको छ। पराजित सातदोबाटो अंक तालिकाको आठौँ स्थानमा झरेको छ। सात खेलमा सातदोबाटोले दुई खेलमा जित, तीन खेलमा हार तथा दुई खेलमा बराबरीको नतिजा ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।