काठमाडौं- नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सम्झौता भएको छ।
सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच सम्झौता भएको हो।
सम्झौता अनुसार नेपाल विद्युत प्राधिकरणका मालसामान नेपाल वायुसेवा निगमको जहाजमार्फत् ढुवानी गरिने छ। प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा दुई पक्षबीच हस्ताक्षर भएको हो।
कार्यक्रममा मन्त्री आलेले निगम र प्राधिकरणबीच भएको सम्झौता प्रशंसनीय काम भएको बताए। उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरुलाई पनि आग्रह गरे।
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौंतामा उल्लेखित कुराहरुलाई पालना गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको प्रस्ताव स्विकार गरेको भन्दै नेपाल विद्युत प्राधिकरण नेतृत्वलाई धन्यवाद दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।