विराटनगर– फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मंसिर १७ गतेदेखि यही पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली संकलन अभियान चलाइएको थियो।
सो अभियानअन्तर्गत नामावली संकलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार स्थानमा यही २० गतेदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा आइतबार सम्पन्न सर्वदलीय बैठकले समय थप्ने निर्णय गरेको हो।
मतदाता नामावली संकलनका लागि थपिएको समयमा इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लाबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र निर्वाचन प्रदेश कार्यालय विराटनगर मतदाता नामावली संकलनको काम हुने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय र प्रदेश निर्वाचन कार्यालयमा नियमित फोटोसहितको मतदाता नामावली संकलन गर्ने काम भइरहेको भए पनि छुट भएका मतदातालाई सहभागी गराउन थप जनशक्तिसहितको एकाइ चारवटै स्थानमा थपेर नामावली संकलन गर्ने र यसका लागि प्रत्येक राजनीतिक दलले सहयोग एवं सहजीकरण गरिदिन आग्रह गरिएको छ।
एक महानगरपालिकासहित १७ पालिका र छ निर्वाचन क्षेत्र रहेको मोरङमा छ लाख ६९ हजार मतदाता थियो भने यो अभियान सञ्चालन भएपछि मतदाता थपिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।