काठमाडौं– कृषि तथा पशुपन्क्षी विकासमन्त्री महिन्द्रराय यादवले आगामी चैत्र/वैशाखभित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।
मन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमै अभाव भएकाले नेपालमा पनि हाललाई मलको आवश्यक व्यवस्था मिलाउन नसकिएको स्पष्टीकरण दिए। आइतबार सिंहदरबारमा प्रेस बिफ्रिङ गर्दै उनले मलको अभाव हुन नदिन सरकारले नेपालमै मल कारखाना स्थापना गर्ने प्रयास गरिरहेको बताए।
त्यसका लागि उपयुक्त कम्पनीहरुको खोजी गर्ने काम लगानी बोर्डले गरिरहेको मन्त्री यादवको भनाइ थियो। मन्त्री यादवले किसानको माग अनुसार मल आपूर्तिका लागि ऐन, कानुन संशोधन गरेर अघि बढ्ने जानकारी दिए।
‘मलको समाधान भनेको कारखाना नै हो। कारखानाका लागि लगानी बोर्डमा प्रस्तावहरु आइरहेका छन्। हामी उपयुक्त कम्पनीको खोजी गरेर मल कारखाना नेपालमै स्थापना गर्ने प्रयास गरिरहेका छौं’, उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा अभाव भएकाले तत्काललाई मलको व्यवस्था हुन नसकेपनि आगामी चैत्र, वैशाखभित्र मलको पर्याप्त व्यवस्था हुन्छ।’
मन्त्री यादवले उखु किसानहरुले ४५ दिनभित्रै भुक्तानी पाउने व्यवस्था सरकारले गरेको पनि बताए। अनलाइन प्रणालीबाट उखु किसानले मिललाई उखु दिएको ४५ दिनभित्र अनलाइन भुक्तानी गर्ने आवश्यक व्यवस्था सरकारले मिलाएको उनको दाबी छ।
किसानहरुलाई मलको व्यवस्था पनि अनलाइन प्रणालीबाटै हुने व्यवस्था गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।
मन्त्री यादवले भने, ‘हामी किसानहरुको जिम्मेवार मन्त्रालयका भएको नाताले यसपाली ४५ दिनमा उखुको भुक्तानी अनलाइनबाट हुने गरी व्यवस्था गरिएको छ। त्यसैगरी मलको व्यवस्था पनि अनलाइन प्रणालीबाटै मिलाइएको छ। सम्बन्धित प्रदेशले वितरणको व्यवस्था मिलाउने गरी अनलाइन प्रणालीमार्फत अब मलको पनि व्यवस्था किसानहरुलाई हुन्छ।’
मन्त्री यादवले किसानलाई बीउविजनको अभाव हुन नदिन पनि सरकार सचेत रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।