काठमाडौं– लागुऔषध मुद्दामा पक्राउ परेका र्यापर आशिष राना मगर ‘लाहुरे’लाई ८ दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले खैरो हेरोइन सेवन गरेको आरोपमा बुधबार बेलुका पक्राउ गरेको थियो। उनीसँगै अन्य तीन जना पनि पक्राउ परेका थिए।
कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार पोखरा महानगरपालिका–२१ घर भई हाल छोरेपाटन बस्ने ३९ वर्षका ध्रुबबहादुर थापा, रुपा गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–१, बगर बस्ने ३० वर्षका बिक्की भन्ने नबिन कुमार गुरुङ पक्राउ परेका थिए।
यस्तै, स्याङ्जाको भिरकोट नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–८, सभागृह बस्ने २२ वर्षकी सुस्मिता गुरुङ पनि पक्राउ परेका थिए।
उनीहरू सबैलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। प्रहरीले उनीहरूलाई शुक्रबार अदालतमा पेस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।