कतिपय स्मृति अत्यन्त पेचिलोसँग मन घोच्ने हुँदारहेछन्। ठीक एक वर्षअघिको त्यस्तै स्मृतिले आज मन घोचेको छ।
म एकप्रकारले मृत्युशैयामा सुतेको थिएँ। ऊ मलाई उठाउन लट्ठी टेकेर निकै दौडियो। हरेक दिन फोन गरेर आत्मबलमा उर्जा थपिरह्यो। अठहत्तर बर्षे उमेरमा मेरा लागि अनेक ठाउँमा याचना गर्दै आफ्नो कष्ट बिर्सिएर दौडिरह्यो। कालान्तरमा मलाई उठाएरै छोड्यो, तर आफू चाहिँ अचानक गायब भयो।
यो कस्तो बिडम्बना! म अहिले उसलाई सम्झिएर औपचारिकता पूरा गरिरहेछु। ऊ कुन लोकमा छ मलाई थाहा छैन। म भने आँखा चिम्लिएर उसले गर्ने नयाँ सडक, स्वयम्भु र सिंहदरबार परिभ्रमणको दृश्य मनभरि खेलाइरहेको छु। उसको सम्बोधन शैली, धुम्रपान र चिया पिउने शोख आदिका दृश्यहरू आँखामा घुमिरहे झैँ लाग्छ।
ठ्याक्कै तीस वर्ष पूरा भएछ, उसको र मेरो हिमचिम भएको पनि। मलाई ती दिनहरूको झझल्को आइरहेछ। लगनखेलको एउटा सानो कार्यालय, थसिखेलको मेरो डेरा, अनुबुक्स र सानातिना भट्टी पसलहरु, यी सब दृश्यपटमा घुमेका छन्। त्यस बेलाका सहकर्मीहरूको अनुहार पनि आँखाअगाडि घुमिरहेको छ। त्यति बेलाका सहकर्मीमध्ये एकजना धर्मराज अर्यालले तीन वर्ष अघि नै महाप्रस्थान गरे। उनले भने एक वर्षअघि ठ्याक्कै आजकै दिन धर्ती छाडे। म अर्धकाया बोकेर यो माटोमा गुज्रिरहेछु र ती स्मृतिलाइ लिपिबद्ध गर्ने कोशिशमा छु।
त्यति बेला राजधानीमा ठूलो आकारका दैनिक पत्रिकाहरु थिएनन्। म ‘कामना’ नामको फिल्मी पत्रिकाको सहसम्पादक थिएँ। पुष्करलाल श्रेष्ठ र कपिल काफ्ले नै त्यहाँका हर्ताकर्ता थिए। त्यति बेला मेरा चितवनका एकजना सहपाठी मित्र लगनखेलमा अध्यापन गर्थे। एक दिन उनले मलाई लगनखेलबाट दैनिक पत्रिका प्रकाशन गर्ने र मलाइ प्रधान सम्पादक बनाउने प्रस्ताव लिएर आए।
मैले केही समयको सोचविचारपछि त्यो प्रस्तावमा सहमति जनाएर कामना प्रकाशन गृहबाट राजीनामा गरेँ। त्यसपछि ‘अभिनन्दन दैनिक’ नामको पत्रिका दर्ता भयो र प्रकाशन आरम्भ भयो। मेरो सोह्रखुट्टेको डेरा थसिखेल पुग्यो।
साधारण पुरानो प्रविधिको लेटर प्रेसबाट पत्रिका प्रकाशनको दुःखको स्मृति नै कहाली लाग्दो त छ नै त्योभन्दा ज्यादा हातमुख जोड्न नपुग्ने पारिश्रमिकको पीडा सम्झदा ती यात्राहरु सब निरर्थक झैँ लाग्छन्। पत्रकारिताको यस्तो दुरुहकालमा ऊ मेरोअगाडि अचानक झुल्किएको थियो। म आफ्नो कार्यकक्षमा ध्यानपूर्वक केही लेख्दै थिएँ।
‘नमस्कार।’
तिखो आवाज सुनेर मैले टाउको ठाडो पारेँ।
‘हजुर नमस्कार, बस्नुस के थियो होला?’ मैले सामान्य रूपमा भनेँ।
‘म रेशम विरहीजीसँग भेट्न भनेर, तपाईं यहाँको स्टाफ होइन?’
‘हो, म स्टाफ पनि हो र तपाइले खोज्या रेशम विरही पनि हो। अनि तपाइको परिचय?’
‘ए, म झुक्किएँछु। एकपटक देख्या त हो। म चक्रपाणि नेपाल,’ उनले फेरी नमस्कार गर्दै भने।
यसपछि उनले कुनै भूमिका र पृष्ठभूमि नबाँधी अभिनन्दन दैनिकमा रिपोर्टिङ गर्ने प्रस्ताव राखे। पत्रिका प्रकाशन आरम्भ भएको लगभग पन्ध्र बीस दिन मात्र भएको थियो। राससका धर्मराजले समाचार शाखा धानेका थिए। मैले विचार पृष्ठ र आलेखहरुको संयोजन गर्थेँ। हामीलाई औपचारिक कार्यक्रम, अन्तर्वार्ता र प्रेस मिटका लागि एउटा परिपक्क्व र भरपर्दो पत्रकार चाहिएको थियो। म उनीप्रति सकारात्मक हुदै थिएँ, अचानक प्वाक्क भने, ‘मलाइ मासिक पारिश्रमिक तोक्न पर्दैन, म प्रष्ट भन्छु विज्ञापन ल्याएर छाप्छु र आफैँ उठाएर खान्छु।’
उनको कुरा सुनेर म रनभुल्लमा परँ। यो प्रस्ताव म एक्लैले स्वीकार गर्न सक्ने कुरा थिएन। त्यसैले संचालकहरूसँग परामर्श गरेर जवाफ दिने सहमति भयो। उनी एक कप चिया पिएर भोलीपल्ट आउने गरी बिदा भए।
भोलिपल्ट उनी उही रवाफ र फरासिलो शैलीमा आए। पाँच सयसम्मको विज्ञापनको रकम उनैले खान पाउने र त्यस भन्दामाथि एक हजारसम्मकोमा पच्चीस प्रतिशत, त्यसभन्दा ज्यादामा पचास प्रतिशत विज्ञापनको रकम प्रकाशनलाइ बुझाउने शर्तमा उनी पत्रिकामा आवद्ध भए। त्यसपछि उनको र मेरो सम्बन्धमा प्रगाढता बढ्दै गयो।
दैनिक औपचारिक समाचार, फिचर र यदाकदा अन्तरवार्ताहरू ल्याएर पत्रिकामा राम्रै योगदान पुर्याइरहे। पारिश्रमिक नपाए पनि विज्ञापनको भरमा आफ्नो गुजारा चलाए नै होला। त्यसपछि पत्रिकाले राम्रै गति लिएको थियो। पत्रकार साथीहरूको संख्या पनि थपिँदै गयो। वामपन्थी ‘बिट’मा सोमत घिमिरे थपिए। मनोरंजन र सामाजिक फिचरमा नेत्रनाथ रेग्मीको संलग्नता भयो।
मैले बिस्तारै बुझ्दै गएँ, चक्रपाणि नेपालको समाचार संकलन शैली र विज्ञापन उठाउने कला अचम्मको रहेछ। पत्रिका प्रकाशन अवधिभर न समाचारको खाँचो भयो, न विज्ञापन कै अभाव। उनी आफू पनि धानिए र पत्रिकालाई पनि आर्थिक गर्जो टारिरहे।
तर दुखद कुरो, पत्रिका संचालकहरू नै उत्साहित हुन छाडे। तैपनि चक्रपाणिलगायत हामी सबैको लगानीमा पत्रिकालाई अवरुद्ध हुन नदिने जमर्को हुँदैथियो, एकाएक ठूलो आकारमा कान्तिपुर दैनिकको प्रकाशन आरम्भ भयो। जसले गर्दा हाम्रो पत्रिकाको बजार बेस्सरी घट्न थाल्यो।
हाम्रो पत्रिका ललितपुर र काठमाडौंमा दुई रुपैयाँमा प्रतिदिन करिब हजारको संख्यामा बिक्थ्यो। तर, उति नै मूल्यमा आठ दश पृष्ठको ठूलो साइजको पत्रिका पाएपछि पाठकहरु कान्तिपुरतिरै आकर्षित हुनु स्वाभाविक थियो। यसले गर्दा हामी दोहोरो चपेटामा पर्यौँ। लगानीकर्ताहरूले हात झिकेको अवस्थामा कान्तिपुरको प्रकाशनले पनि हामीलाई हतोत्साही बनायो। यी यावत् कारणले अभिनन्दन दैनिक बन्द हुन पुग्यो। यसपछि उनको र मेरो दैनिक सम्पर्क टुट्यो।
उनी यसै पनि यायावर शैलीका त थिए नै, अभिनन्दनको प्रकाशन बन्द भएपछि झन् यायावर भए। उनले यायावारीबाट पनि निकै ज्ञान र अनुभवहरु हासिल नगरेका होइनन्। केही समयको घुमफिरपछि उनी कमल जोशीको ‘नेपालीपत्र’ साप्ताहिकमा आबद्ध भएछन्। त्यसैमा काम गर्दागर्दै जीवनको भारी बिसाए।
आज म उनलाई मसँगको सान्निध्यले मात्र सम्झिरहेको छैन, उनको इमान्दारी, वैचारिक स्पष्टता र संघर्षको अथक पर्यायका रूपमा पनि सम्झिन चाहन्छु। पंचायतकालमा नेकपा (माले)को संगठन विस्तारको क्रममा पूर्व भोजपुरदेखि धादिङसम्म सम्पर्क स्थापित गरेका चक्रपाणिले दलीय स्वतन्त्रता पछि गुजारामुखी पत्रकारिताबाट मात्र जीवनको रथ चलाईरहे।
यसैबीच राजधानीमा केही समय उनको र मेरो बसाइको दूरी निकै नजिक भयो। यसले उनको र मेरो सान्निध्यताको पुनः नवीकरण भयो। यसैबीच उनले २०७४ मा मलाई आफ्ना लेखहरुको संकलनको पाण्डुलिपि थमाए। नेपालीपत्रलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित फिचर र विचारहरुको संकलनको पाण्डुलिपि हेर्दा म अत्यन्त रोमान्चित भएको थिएँ।
राजनीति, समाज र संस्कृति, इतिहास, देश/विदेशको यात्रा र नेपालको अर्थप्रशासनलगायतका विषयमा उनको लामो अनुभवको संस्मरण मैले आद्योपान्त पढेँ। अन्तमा नेपालीपत्रको सामान्य सहयोग र उनका पुत्रहरुको लगानीमा ‘नागबेली’ शीर्षकमा प्रकाशित पनि भयो, जसको विमोचनमा पनि मैले आफ्नो भूमिका निर्वाह गर्ने मौका पाएँ। नेपालका प्रतिष्ठित साहित्यकारहरु नारायण ढकाल, विमल निभा, श्यामल, शार्दूल भट्टराई, पुरुषोत्तम सुवेदी र सीताराम उप्रेतीलगायतको उपस्थितिमा भएको विमोचन कार्यक्रम पनि उनको लेखकीय व्यक्तित्व झल्काउने एउटा विशिष्ट कार्यक्रम थियो। नेपाल पत्रकार महासंघद्वारा ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ र प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट सम्मानित चक्रपाणि नेपालले देहत्याग गरेको आज ठीक एक वर्ष भयो।
म यति बेला उसका कैयन् सद्गुणसहित आफ्नो अस्वस्थताका बाबजुद मेरो जीवन रक्षाका लागि गरेका प्रयत्न सम्झिएर नतमस्तक हुँदै श्रद्धासुमन अर्पण गर्दछु। उसले मृत्युशय्यामा सुतेको माछेलाई शय्याबाट उठायो, आफू त्यही शय्यामा चीर निद्रामा निदायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।