काठमाडौं– विसं २०७२ को भूकम्पका कारण क्षति भएको काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकाको साढे ११ करोड रुपैयाँ सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो।
आगामी माघ २ गते भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। उद्घाटनकै दिन काष्ठमण्डपको ऐतिहासिक महत्त्व र पुनर्निर्माणका क्रममा भएको जानकारी समावेश गरिएको पुस्तक प्रकाशनको तयारीसमेत गरिएको छ।
मंसिरमै सम्पदा पुनर्निर्माणको काम सकिएको हो । भूकम्पका कारण पूर्णरूपमा क्षति भएको उक्त सम्पदा ६ वर्षपछि पुनर्निर्माण गरिएको हो।
काष्ठमण्डप पुनर्निर्माणका लागि तराईका ६ जिल्लाबाट ल्याइएका सालको काठ प्रयोग गरिएको छ। अध्यक्ष शाक्यका अनुसार काष्ठमण्डप पुनर्निर्माणमा बारा, पर्सा, महोत्तरी, रौतहट, कञ्चनपुर र चितवनबाट ल्याइएको सालको काठ प्रयोग गरिएको छ। अन्यको तुलनामा सालको काठ बढी टिकाउ हुने भएकाले काष्ठमण्डप पुनर्निर्माणमा सालको काठ प्रयोग गरिएको शाक्यको भनाइ छ।
पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटालगायतका सामग्री प्रयोग गरिएको छ। त्यसैगरी भूकम्पका कारण क्षति भएका विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रको हालसम्म ३० सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ।
भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २५ को पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।