काठमाडौं– अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले क्याम्पमा ३० खेलाडीलाई बोलाएको छ।
बिहीबार क्यानको छनोट समितिले मुख्य प्रशिक्षक पुबुदु दसानायाकेसँगको परामर्शमा ओमानमा हुने छनोटका लागि पहिलो चरणको क्याम्पमा ३० खेलाडीलाई बोलाएको हो।
क्यानले निलम्बन गरेको कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई समेत बोलाएको छ। यस्तै, सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि क्याम्पमा बोलाइएको छ।
मङ्सिर २९ गते बसेको क्यानको बैठकले अनुशासन उल्लंघन गरेको भन्दै मल्ल, दीपेन्द्र, सोमपाल र कमलमाथि कारबाही गरेको थियो। कप्तानबाट मल्ललाई हटाएर उक्त जिम्मेवारी लेग स्पिनर सन्दीप लामिछानेलाई दिइएको छ।
यता, उपकप्तानको जिम्मेवारी भने कसैलाई पनि दिइएको छैन। यस्तै, उनीहरूलाई छ महिनाको सेन्ट्रल कन्ट्र्याक्टसमेत राखिएको छैन।
ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपाल रहेको समूहको खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ (फागुन ३ देखि १३)सम्म ओमानमा आयोजना हुनेछ। समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जर्मनी, क्यानडा र बहराइन छन्। समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
बोलाइएको खेलाडी
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण के.सी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐर, गुलशनकुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरिशङ्कर साह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।