काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनमा आफूले प्रस्तुत गरेको दस्तावेजमाथि सबैको समर्थन रहेको बताएका छन्।
बिहीबार बन्दसत्रमा सहभागी भएर बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नमा उनले आमरुपमा सबैको समर्थन रहेको बताए। दस्तावेजलाई परिमार्जन गर्न के के गर्नुपर्छ भनेर सहयोग पुग्ने हिसाबबाटै सुझाव आएको प्रचण्डको दाबी छ।
राम कार्की र लेखनाथ न्यौपानेले पेस गरेको फरक मत पनि विवाद हुने खालको नभएको उनको भनाइ छ।
‘फरक मत भनेर त्यस्तो विवाद हुने खालको एउटा पनि छैन। तपाईंहरु कोही भ्रममा नपर्नुहोला। दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै सबैले धारणा राख्नुभएको छ’, प्रचण्डले भने, ‘दस्तावेजप्रति सबै समूहको आमरुपमा समर्थन छ। त्यसलाई परिमार्जन गर्न के गर्नुपर्छ भनेर सबैले ग्रुपले बडो मिहिनेत गरेर यहाँ यहाँ सुर्धानुर्पछ, यहाँ पुग्या छैन भनेर भन्ने कुरा पनि गर्नुभएको छ। दस्तावेजको मूल स्पिरिटप्रति सबैको जोडदार समर्थन छ।’
उनले माओवादीको महाधिवेशन व्यवस्थित र अनुशासित रुपले निर्धारित कार्यक्रमअनुसार नै चलेको दाबी पनि गरे।
समूहगत रुपमा उठेका प्रश्नको भोलि शुक्रबार जवाफ जवाफ दिने र त्यपछि केन्द्रीय समितिको निर्वाचन हुने माओवादीले जनाएको छ। केन्द्रीय समितिकाे निर्वाचनपछि पदाधिकारीको निर्वाचन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।