मकवानपुर- बुधबार बिहानदेखि अवरुद्ध रहेको त्रिभुवन राजपथमा यातायात सेवा सञ्चालन भएको छ। वर्षा र हिउँका कारण बुधबार बिहानदेखि बन्द रहेको त्रिभुवन राजपथ सडकखण्ड हिउँ पन्छाएसँगै सञ्चालनमा आएको हो। मंगलबार रातिदेखि परेको वर्षासँगै हिउँ परेपछि सो सडकमा यातायात सेवा अवरुद्ध भएको थियो।
बुधबार रातिदेखि वर्षा रोकिएपछि बिहीबार बिहानैदेखि सडक खुलाउने प्रयास भएको थियो। सडकमा भएको हिउँ पन्छाएर यातायात सेवा सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
थाहा नगरपालिकाको सीमभञ्ज्याङ, दामन र अघोरलगायतका स्थानमा परेको हिउँ जेसिबी लगाएर पन्छाएपछि बिहीबार साँझ ५ः३० बजेबाट दुईतर्फीरूपमा यातायात सेवा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए। सडक सञ्चालनमा आएसँगै सो क्षेत्रमा रोकिएर बसेका सवारी गन्तव्यतर्फ पठाइएको उनले बताए।
इलाका प्रहरी कार्यालय पालुङको सक्रियतामा थाहा नगरपालिका समन्वय र डिभिजन सडक कार्यालय मकवानपुर जेसिबी प्रयोग गरेर सडकको हिउँ हटाइएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।