काठमाडौं– सेन्चुरियनमा भएको पहिलो टेस्टमा भारतले आयोजक दक्षिण अफ्रिकालाई ११३ रनले पराजित गरेको छ। योसँगै भारतले तीन टेस्टको सिरिजमा १–० को अग्रता बनाएको छ।
दोस्रो इनिङ्समा भारतले जितका लागि दिएको ३०५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोली १९१ रन बनाएर आउट भएको थियो।
टेम्बा बाउमाले सर्वाधिक ३५ रन बनाए। क्विन्टन डी ककले २१ रनको योगदान दिए।
भारतका लागि जसप्रित बुमराह र मोहम्मद सामीले ३–३ विकेट लिए। मोहम्मद सिराज र रविचन्द्र अश्विनले समान २–२ विकेट लिए।
पहिलो इनिङ्समा ३२७ रन बनाएको भारतले दक्षिण अफ्रिकालाई १९७ रनमा अलआउट गरेको थियो। यसरी भारतले पहिलो इनिङ्सको आधारमा १३० रनको अग्रता लिएको थियो। भारतको टोलीले दोस्रो इनिङ्समा १ सय ७४ रन मात्रै बनाउन सकेको थियो। त्यसपछि दक्षिण अफ्रिकाले जितका लागि ३०५ रनको लक्ष्य पाएको थियो।
यही टेस्टका क्रममा मोहम्मद शामीले टेस्ट क्रिकेटमा २०० विकेट पूरा गरेका थिए। भारतका लागि केएल राहुलले पहिलो इनिङ्समा शतक प्रहार गरे भने शमीले कुल ८ विकेट लिएका थिए। पहिलो इनिङ्समा शतक प्रहार गरेका केएल राहुल खेलको म्यान अफ द म्याच घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।