काठमाडौं– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानले माओवादीमा अर्को रुपको ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन्।
उनले एमालेमा देखिएको‘बा प्रवृत्ति’को विरोध गर्दै गर्दा माओवादीमा पनि अर्को रुपमा सोही प्रवृत्ति देखिएको टिप्पणी गरेका हुन्। अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा फरक मत राख्दै न्यौपानेले भनेका छन्,– ‘हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ।’
उनले प्रचण्ड सशरीर उपस्थित हुँदा उनको ‘कटआउट’किन राखिएको भन्दै प्रश्न उठाएका छन्।
‘तपाईं आफै सशरीर उपस्थित भएको ठाँउमा तपाईंका लस्करै तस्वीर राख्न कसले निर्देशन दिएको हो? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्वीर राखेको भए हाम्रो संस्कति कति सुसंगत हुन्थ्यो होला?’, न्यौपानेले भनेका छन्।
उनले माओवादी र खासगरी अध्यक्ष प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको आरोप लगाएका छन्।
‘तपाईंका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने कतै सुनिदैन। सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र’, न्यौपानेले भनेका छन्,‘यसको एउटा उदाहरण तपाईंले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने शब्द एक ठाउँमा मात्र छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।