मेलम्ची खानेपानी आयाेजना क्षेत्रको अवस्था
काठमाडौं– मेलम्ची खानेपानी र क्षेत्रमा असार १ गते र त्यसपछि आएको बढीले तहसनहस पारेको पहिरो अध्ययनका लागि पुगेको एसियाली विकास बैंकको टोली हिउँमा फसेपछि आज उद्धार भएको छ।
करिब एक साताअघि उनीहरु पहिरो अध्ययनका लागि हेलम्बुको भ्रेमाथाङ पुगेका थिए। टोलीमा एडिबीका १५ जना र एक जना स्थानीय शेर्पा पथ प्रर्दशक थिए। भ्रेमाथाङको पहिरो र मेलम्ची खानेपानीको अवस्था अध्ययन गरी प्रतिवेदन निर्माणका लागि पुगेको टोली हिजो नै फर्कने कार्यक्रम भएपछि मौसममा परिर्वतन भएर पानी पर्न थालेपछि रोकिएको थियो।
पानीसँगै बाक्लो हिउँ परेपछि उनीहरु उक्त क्षेत्रमा फसेका थिए। मेलम्ची खोलाको उद्गमस्थल करिब ३६ सय मिटर उचाइमा १६ जनाको टोली टेन्टको सहायतामा बसेको थियो। वर्षासँगै हिउँ परेपछि उनीहरु बसेको टेन्ट पुरिएको थियो। टेन्ट पुरिएपछि अलपत्र परेका उनीहरु राति ओडारमा बास बसेका थिए। उनीहरुले उद्धारका लागि काठमाडौं र अन्य स्थानमा खबर गरेका थिए। हिउँ परिरहेकाले स्थल र हवाई मार्गवाट उद्धार हुन नसकेपछि उनीहरु त्यहीँ स्थानमा बसेका थिए।
बिहीबार बिहान श्री एयरलाइन्सको हेलिकप्टरले उनीहरु मध्येपाँच जनालाई काठमाडौं ल्याएको छ। उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमा ल्याइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। ‘रातभर चिसोमा बसेकाले पाँच जनालाई गम्भीर समस्या देखिएकाले काठमाडौं पठाइएको छ,’ शेर्पाले भने, ‘बाँकी सुरक्षित रुपमा घोप्टेध्याङमा आएर बसेका छन्, उनीहरुलाई पनि काठमाडौं लैजाने तयारी भइरहेको छ।’
टोलीका पथप्रदर्शक सोनाम लामाले बुधबार दिउँसो कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता कमला पाख्रिनलाई फोन गरेर आफू हिउँपहिरोबाट जोगिन पानीले भिजेर खुला चौरमा बसिरहेको जानकारी दिँदै उद्धारका लागि आह्वान गरेका थिए। उनले अन्यत्र पनि आफूले खबर गरिरहेको तर उद्धारमा कठिनाइ भएको भन्दै समाचार प्रकाशन गरिदिन भनेका थिए। उनले टेन्ट बगाएको, लगातार पानी र हिउँ परिरहेकाले आफूहरू उद्धारको प्रतीक्षामा रहेको कुरा सार्वजनिक गरिदिन भनेका थिए। लामाका अनुसार उक्त क्षेत्रमा ६–७ फिट हिउँ परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।